काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै छ। विश्व वातावरण दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा दिवस मनाइँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताएका छन् ।उनले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको उल्लेख गरे।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेका छन्, मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ।
साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उनले औँल्याएका छन् । देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाएका छन् ।उनले सन्देशमा भनेका छन्, त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।
चितवनमा युवाहरुको नाफारहित गैरराजनीतिक सामाजिक संस्था ‘बेटर चितवन’ले आज ‘पर्यावरणका लागि युवा आवाज युथ डायलग’को आयोजना गरेको छ । त्यस्तै, भरतपुर महानगरले वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ।


































