काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गतको सिमलतालमा गत शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार १९ जनामध्येमा १४ जनाको शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिए।
आज भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ, अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।”
गत शुक्रवार बिहान भएको उक्त दुर्घटनामा दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । कार्यदलले बुधवारबाट काम सुरु गरिसकेको छ ।






































