काठमाडौँ। उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन्। उनले कुल ३० हजार ५९० मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनले श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पछि पार्दै विजय हासिल गरे। राईले ११ हजार ६०६ मत प्राप्त गरेका छन्।
अन्य प्रतिस्पर्धीमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत पाएका छन्।
व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका गेलालले पहिलो प्रयासमै निर्वाचन जित्न सफल भएका हुन्।
चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा २०४२ साल वैशाखमा जन्मिएका गेलाल शिक्षा, व्यवसाय र संगठनात्मक गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यवसायिक नेतृत्वमा पनि पहिचान बनाएका छन्।
पार्टीभित्र उनी केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव तथा केन्द्रीय निर्वाचन रणनीति कार्यदलका सदस्यको भूमिकामा कार्यरत छन्।





































