काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उदयपुर क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारश मणी गेलाल निकै सक्रिय देखिएका छन् । उनी आफ्नो चुनावी अभियानलाई मात्र राजनीतिक प्रतिस्पर्धा नभई क्षेत्रीय विकास, सुशासन र रोजगारी सिर्जनाको माध्यमका रूपमा अघि बढाइरहेका देखिन्छन् ।
चिया पसल देखि चौतारासम्म गेलालको चर्चा हुने गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको उनी बताउँँछन् । उनले भने, “जनता अब झुटा आश्वासन खोज्दैनन्, उनीहरूले काम गर्ने नेतृत्व खोजिरहेका छन्। हामीले केवल जे गर्न सक्छौं, त्यो नै हाम्रो प्रतिबद्धता हो।”

समाजसेवा, पत्रकारिता, प्रध्यापन लगायत बहुमुखी अनुभव बोकेका गेलाल
उदयपुर जिल्लाको हडिया गाबिस वडा नम्बर २ ज्यामिरेमा जन्मिएका पारश मणी गेलाल प्रारम्भिक जीवनदेखि नै शिक्षा, समाज सेवा र सुशासनको क्षेत्रमा सक्रिय रहेका छन्। उनले आफ्नो औपचारिक शिक्षा श्री थान पोखरी माध्यमिक विद्यालय बाट सुरु गरेका थिए। सानै उमेरदेखि नै समाजसेवामा रुचि राख्ने उनले बाल समूह मार्फत ‘मिना कार्टुन’ भिडियो गाउँ–गाउँमा देखाउँदै चेतनामूलक सन्देश फैलाउने कार्यमा संलग्न थिए।
विद्यालय जीवनमै उनले ‘शुभप्रभात असल शासन रेडियो श्रोता क्लब’ को अध्यक्षको जिम्मेवारी सम्हालेर सामाजिक उत्तरदायित्व र नागरिक सहभागिताको अभ्यास सुरु गरेका थिए । पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहेका उनले स्थानीय सुशासन पत्रिका को सम्पादक, ‘किशोरा आवाज’ बुलेटिनको प्रधान सम्पादक र विकास बुलेटिन सुनसरी को लेखन, डिजाइन तथा सम्पादनमा कार्यसम्पादन गरिसकेका छन्।
समाजसेवामा पनि उनी निरन्तर सक्रिय छन्। नवलपरासी जिल्लाको शिवमन्दिर गाबिस माध्यमिक विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा सेवा दिएका उनले स्थानीय स्वास्थ्य जनचेतना कार्यक्रमहरूमा पनि सक्रिय भूमिका खेलेका छन्। यसबाट उनी स्थानीयस्तरमा परिवर्तनको संवाहकका रूपमा परिचित भएका छन्।
उच्च शिक्षामा उनले सुनसरी बहुमुखी क्याम्पसबाट क्याम्पस अध्ययन सुरु गरी त्रिभुवन विश्वविद्यालय, किर्तिपुर क्याम्पस बाट स्वास्थ्य शिक्षा विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
प्रध्यापन पेशामा आठ वर्षभन्दा बढीको अनुभव
प्रध्यापन पेशामा आठ वर्षभन्दा बढी समय समर्पित गर्दै उनले उदयपुरको जनता बेलका उमाविबाट आफ्नो करियर सुरु गरेका थिए र मोदर मेमोरियल कलेज, सुनसरी बहुमुखी क्याम्पस, भदगाउँ बहुमुखी क्याम्पस लगायत विभिन्न क्याम्पसमा प्राध्यापकको रूपमा सेवा प्रदान गरेका छन्।
शैक्षिक प्रशासनिक अनुभवमा पनि उनी दिग्गज छन्। +२ परीक्षामा पहिलो पटक श्री थान पोखरी उमाविमा परीक्षा निरीक्षकको जिम्मेवारी सफलतापूर्वक निभाए। त्यसपछि जनता बहुमुखी क्याम्पस, भदगाउँ सिनुवारी उमावि लगायत
संस्थाहरूमा पाँच पटकसम्म परीक्षा निरीक्षकको रूपमा कार्यभार सम्हालेका छन्। गेलालले शिक्षा, तालिम, समाजसेवा, पत्रकारिता र प्रध्यापन अनुभवको समग्र संयोजन मार्फत उर्जा, क्षमता र नेतृत्व प्रदर्शन गरेका एक सक्षम युवा व्यक्तित्वका रूपमा आफूलाई स्थापित गरेका छन्।
शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा केन्द्रित एजेन्डा
गेलालले निर्वाचनमा जनताका आधारभुत मुद्दालाई अगाडी सारेका छन् । विशेषगरी उनले गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, कृषिलाई व्यवसयिक बनाउँदै उत्पादनको बजार सुनिश्चित गर्ने, सडक र पुल निर्माण, स्वच्छ खानेपानी र आधारभूत पूर्वाधार क्षेत्रका प्रमुख आवश्यकतालाई प्राथमिकतामा राखेको बताएका छन् ।

विकासको आधार भनेको जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित आवश्यकता पूरा गर्नु रहेको उनको भनाइ छ।
कृषिलाई व्यवसायिक बनाउँदै रोजगारी सिर्जना गर्ने
पारश मणी गेलालले कृषिलाई व्यवसायिक बनाउँदै स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने योजना पनि प्राथमिकताका साथ अघि सारेका छन्। यससँगै युवा स्वरोजगारका लागि ‘युवा स्वरोजगार फण्ड’ स्थापना गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने पहल गर्ने उनको भनाइ छ ।
उनले कृषिलाई व्यवसायिक बनाउने र स्टार्टअप तथा आईटी क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने योजना सार्वजनिक गर्दै भने, “हाम्रो अभियान केवल राजनीतिक छैन, हामी यहाँ काम गर्न आएका छौं।”
पर्यटन र स्थानीय सम्भावना प्रवद्र्धन
उदयपुरमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले बेलका क्षेत्रलाई पर्यटन हबमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। यस अन्तर्गत पाराग्लाइडिङ व्यवसायिकीकरण, थारु तथा अन्य स्थानीय सांस्कृतिक विरासतका आधारमा होमस्टे व्यवस्थापन, चौदण्डी दरबार संरक्षण र प्रवद्र्धन तथा ‘थ्री–पी मोडल’ अन्तर्गत पोड–वे सेवा सञ्चालन जस्ता योजनाहरू समावेश छन्।
उनी भन्छन् “थ्री पी मोडलमा उदयपुर र सोलुको नाम्चे जोड्ने ‘पोड वे’ सेवा सञ्चालनका लागि पहिल गर्छु । यो मेरो व्यक्तिगत वाचापत्रमा पनि राखेको छु । पोड वे सेवामार्फत उदयपुरलाई सगरमाथासँग जोडेर पर्यटन हव बनाउने कार्यमा मेरो सशक्त भूमिका हुन्छ । आईटी क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने कुरामा पनि मेरो सशक्त भूमिका हुन्छ । उदयपुर सिमेन्टभित्र रहेको राजनीतिलाई सदाका लागि अन्त्य गरी बाह्रै महिना चौविसै घण्टा सञ्चालन हुने व्यवस्था गर्छु ।”
नदी कटान नियन्त्रण र बाढी व्यवस्थापन
त्रियुगा नदी र वर्षायाममा आउने खहरे खोलाबाट हुने क्षति नियन्त्रण पारश मणी गेलालको अर्को प्रमुख प्राथमिकता हो। वर्षायाममा आउने बाढीले कृषक र स्थानीय बासिन्दालाई ठूलो क्षति पुर्याउँदै आएको छ।
पारश मणी गेलाल स्वयं पनि यस समस्याबाट प्रभावित रहेकाले उनले नदी नियन्त्रण र बाढी व्यवस्थापनमा राष्ट्रिय स्तरको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कटानपीडितलाई उचित मुआब्जा उपलब्ध गराउने र दीर्घकालीन संरचना व्यवस्थापन सुनिश्चित गर्ने कामलाई तीव्रता दिइने बताएका छन् ।
शिक्षामा सुधार र सरकारी विद्यालय व्यवस्थापन
गेलालले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन, शिक्षक व्यवस्थापन सुधार र राजनीतिक हस्तक्षेप रोक्ने योजना सार्वजनिक गरेका छन्।
उनका अनु्सार शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार उनको एजेण्डाको पहिलो प्राथमिकता हो र चुनाव जितेपछि यसमा तत्काल सुधार गरिनेछ।
सुशासन र विधिको शासन
भ्रष्टाचार नियन्त्रण, सरकारी सेवाको सहजता र विधिको शासन स्थापना नै प्रमुख एजेण्डा रहेको उनले बताए। उनले जनतालाई सम्बोधन गर्दै भने, “हामी राजनीति गर्न होइन, काम गर्न आएका हौं । जे गर्छौं, त्यही बोल्छौं र जे बोल्छौं, त्यही गर्छौं।”
उनलाई विश्वसनीय, काममुखी र जनमुखी नेताको रूपमा प्रस्तुत त्यहाँका जनताले हेर्ने गरेको समर्थक युवाहरु बताउछन् ।
उदयपुर क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार रहेका पारश मणी गेलाल शिक्षा, समाजसेवा, पत्रकारिता र प्रध्यापनमा बहुमुखी अनुभव बोकेर आएका ब्यक्ती हुन् । उनले स्थानीय जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका योजना र पहलहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार सुधारमा प्रत्यक्ष प्रभाव पार्ने लक्ष्य राखेका छन्। स्थानीय समुदायमा विश्वास र आशा जगाउने उनको दृष्टिकोणले उदयपुर–१ मा नयाँ नेतृत्वको विकल्प प्रस्तुत गरेको छ।
समर्थकहरू भन्छन्, उनले विश्वसनीयता, काममुखी नेतृत्व र जनमुखी दृष्टिकोण मार्फत विकासको मार्ग तय गर्ने क्षमता राखेका छन्। पारश मणी गेलालले देखाएको सक्रियता र प्रतिबद्धता मतदाताका लागि निर्णायक भूमिका खेल्ने अपेक्षा समर्थकहरुको छ।






























