काठमाडौँ । आन्तरिक राजस्व संकलन कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन हो ।
कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले वार्षिक राजस्व उठाउने लक्ष्य कूल रु ५९ करोड एक लाख रहेको थियो ।
यस्तै, रु ३८ करोड ९० लाख ९९ हजार आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३१ करोड ५४ लाख २३ हजार संकलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।
“रु १९ करोड नौ लाख ३० हजार बहाल कर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म रु ११ करोड तीन लाख ७३ हजार सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक रु पाँच करोड छ लाख ३९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु पाँच करोड तीन लाख १६ हजार सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।”
राजस्व संकलन कार्यालयका अनुसार मूल्य अभिवृद्धि करबापत रु १६ करोड ५४ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म रु ११ करोड ९३ लाख ४९ हजार सङ्कलन भएको छ । कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ । अन्तःशुल्क रु नौ करोड नौ लाख ६६ हजार लक्ष्य रहेकामा रु आठ करोड पाँच लाख ३७ हजार राजस्व सङ्कलन भएको छ ।
जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाको भनाई छ। जुम्लामा एक–एकपटक व्यावसायिक र निर्माण व्यवसायीलाई गरी दुई पटक करदाता शिक्षा दिइएको छ ।
































