काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङले धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।
प्रहरीका अनुसार उनीहरूले सरकारी कागजात कीर्ते गरेका थिए ।
जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । त्यसपछि साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको बताइएको छ ।
यसवापत यो समूहले केही रकम समेत लिएको प्रहरीको भनाई छ । यता पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।


































