काठमाडौँ। होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद आज सकिँदैछ। कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणतर्फ ३३ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
जारी गरिएको सेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिन्छ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन मिल्नेछ। यस निष्कासनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
यसअघि कम्पनीले पुस २० गते धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता, कुल ४० करोड रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक गर्न स्वीकृति प्राप्त गरेको थियो। सो स्वीकृतिअनुसार पहिलो चरणमा पुस २४ गतेदेखि माघ ८ गतेसम्म विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि सेयर निष्कासन गरिएको थियो।
































