काठमाडौं। पेट्रोलियम पदार्थको बढेको मूल्य घटाउन माग गर्दै राष्ट्रिय जेन–जी नागरिक अभियानले आयल निगम कार्यालय आसपास प्रदर्शन गरेको छ।
सोमबार बबरमहलस्थित आयल निगममा धर्ना दिन पुगेका अभियानका सदस्यहरूलाई प्रहरीले हटाएपछि उनीहरूले सोही क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरू धर्ना बस्नुका साथै ज्ञापनपत्र बुझाउन त्यहाँ पुगेका थिए ।
प्रहरीले आवश्यक समन्वय नभएको जनाउँदै उनीहरूलाई निगम परिसरबाट बाहिर निकालेको थियो ।
अभियानका सह–संयोजक अजय सोडारीका अनुसार आफूहरू समन्वयमै ज्ञापनपत्र बुझाउन गएको भए पनि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणमा व्यापक असर परेको भन्दै यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले छिमेकी मुलुकहरूमा मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएकोप्रति असन्तुष्टि जनाए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी अभियानले दिएको छ।
































