काठमाडौं । नेपालमा लोकप्रिय खेलका रूपमा स्थापित लुडोलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक स्वरूप प्रदान गर्ने उद्देश्यसहित नेपाल लुडो लिग (Nepal Ludo League - NLL) २०२६ को तयारी तथा खेलाडी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
युवा पुस्तादेखि वयस्कसम्म, जात, धर्म, लिङ्ग, उमेर तथा भौगोलिक सीमाभन्दा माथि उठेर सबैलाई जोड्न सफल लुडो खेललाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै यसको विकास र विस्तार गर्ने लक्ष्यसहित लिग आयोजना गर्न लागिएको हो।
कुल १२ लाख रुपैयाँ पुरस्कार राशि रहेको नेपाल लुडो लिग २०२६ हालसम्मकै ठूलो तथा व्यवस्थित लुडो प्रतियोगितामध्ये एक हुने आयोजकको विश्वास छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ खेलाडीले विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने प्रथम हुने खेलाडीले ५ लाख रुपैयाँसम्मको पुरस्कार जित्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीको उमेर कम्तीमा १६ वर्ष पुगेको हुनुपर्नेछ।
लिगको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्था, भरपर्दो इभेन्ट्स प्रा. लि. का कार्यकारी अध्यक्ष सुरज भट्टराईले भने, “लुडो केवल मनोरञ्जनको खेल मात्र नभई पुस्ता, समुदाय र भूगोललाई जोड्ने एउटा साझा माध्यम पनि हो। यही लोकप्रियतालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक स्वरूप दिँदै नेपाली खेलाडीहरूलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्नु हाम्रो उद्देश्य हो। हामीले हाल प्रारम्भिक रूपमा खेलाडी दर्ता प्रक्रिया खुला गरेका छौँ। थप प्रायोजक तथा साझेदारहरूको सहभागितासहित केही दिनमा विशेष कार्यक्रममार्फत लिगको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारीमा छौँ।”
प्रविधिमैत्री छनोट प्रक्रिया र आफ्नै डिजिटल प्लेटफर्म
नेपाल लुडो लिग २०२६ को दर्ता तथा प्रारम्भिक छनोट प्रक्रिया प्रविधिमैत्री बनाइएको छ। खेलाडी दर्ता तथा छनोटका खेल आयोजककै डिजिटल प्लेटफर्ममार्फत सञ्चालन गरिनेछन्। अनलाइन छनोटको क्रममा पहिलोपटक पराजित हुने खेलाडीलाई पुनः एकपटक प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिनेछ। त्यसपश्चात् छनोट प्रक्रिया नकआउट प्रणालीअनुसार अघि बढाइनेछ।
प्रारम्भिक छनोट प्रक्रियाबाट करिब २४ देखि ३२ जना उत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ।
काठमाडौंमा प्रत्यक्ष लिग तथा फाइनल प्रतिस्पर्धा
प्रारम्भिक छनोटबाट छानिएका २४ देखि ३२ जना खेलाडी काठमाडौंमा उपस्थित भई क्विक म्याच तथा पोइन्ट प्रणालीमार्फत प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट १६ खेलाडी आधिकारिक लिग चरणका लागि छनोट हुनेछन्।
लिग तथा त्यसपछिका प्रतिस्पर्धात्मक चरणमा छनोट भएका खेलाडीको पूर्ण सहभागिता अनिवार्य हुनेछ। काठमाडौंमा उपस्थित हुने छनोट भएका खेलाडीका लागि खाने तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ। साथै, सबै छनोट भएका खेलाडीलाई न्यूनतम यातायात खर्चसमेत उपलब्ध गराइनेछ।
खेलाडी दर्ता तथा प्रतियोगितासम्बन्धी विवरण
* दर्ताको अन्तिम मिति: २२ डिसेम्बर २०२६ (वि.सं. २०८३ पुस ७ गते), दिउँसो ४ बजे सम्म
दर्ता शुल्क: प्रि-लन्च अफरअन्तर्गत मात्र रु. ९९ (भ्याटसहित)
* लिग तथा फाइनल प्रतियोगिता: २८ - ३० डिसेम्बर २०२६, काठमाडौं
* सहभागिताका लागि न्यूनतम उमेर: १६ वर्ष
* दर्ता तथा छनोट प्लेटफर्म: www.nepalludoleague.com
खेलाडी दर्ताका लागि आयोजकको आह्वान
नेपाल लुडो लिग २०२६ ले नेपाली लुडो खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने तथा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ। यसका साथै लुडोलाई मनोरञ्जनमा सीमित नराखी व्यवस्थित र प्रतिस्पर्धात्मक खेलका रूपमा स्थापित गर्न लिगले महत्वपूर्ण योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
देशभरका सम्पूर्ण लुडोप्रेमी तथा इच्छुक खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी भई आफ्नो खेल कौशल प्रदर्शन गर्न आयोजकले हार्दिक आह्वान गरेको छ।
थप जानकारी तथा खेलाडी दर्ताका लागि: www.nepalludoleague.com



































