काठमाडौं । चीनको विद्युतीय सवारी ब्रान्ड KAIFENG का ३ नयाँ मोडल नेपाली बजारमा भित्रिने भएका छन् । एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालि नेपालका लागि आधिकारिक वितरक नियुक्त भएसँगै कम्पनीले इलेक्ट्रिक कमर्सियल भ्यान, लाइट ट्रक र प्यासेन्जर कार नेपाली बजारमा ल्याउन लागेको हो ।
KAIFENG ब्रान्डले चीनमा अनुसन्धान तथा विकास (R&D), सवारी उत्पादन, स्पेयर पार्ट्स, निर्यात तथा OEM सेवासहित अटोमोटिभ क्षेत्रमा व्यवसाय विस्तार गर्दै आएको छ । कम्पनीको उत्पादन तथा निर्यातसम्बन्धी गतिविधि चीनको जियाङ्सु प्रान्तस्थित डानयाङ सिटीमा रहेको आफ्नै कारखानाबाट सञ्चालन हुँदै आएको छ ।
कम्पनीको मुख्य टोलीमा करिब १५० जना सदस्य रहेका छन् । उनीहरूले उत्पादन अनुसन्धान तथा विकास, उत्पादन प्रक्रिया र चीनका प्रमुख अटोमोटिभ कम्पनीहरूसँगको सहकार्यको नेतृत्व गर्दै आएका छन् । कम्पनीले नान्टोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान तथा विकास केन्द्रसमेत सञ्चालन गरिरहेको छ ।
KAIFENG ले नेपाल, पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमारलगायतका देशहरूमा आफ्नो बजार तथा ग्राहक सञ्जाल विस्तार गरेको छ ।
नेपालमा एमभी दुगड ग्रुपले KAIFENG का सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा आफ्टर सेल्स सर्भिस सेन्टर स्थापना गरिसकेको छ । कम्पनीले आगामी दिनमा एमभी दुगड ग्रुपका नेपालभर रहेका १६ वटा अटोमोबाइल आउटलेटबाट समेत बिक्री तथा सेवा विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीका बिजनेस हेड नवीन फुयालका अनुसार आगामी चरणमा ग्रुपका विभिन्न शाखाबाट ग्राहकलाई KAIFENG का सवारीसाधनको बिक्री तथा सेवा उपलब्ध गराइनेछ ।
१४ सिट क्षमताको इलेक्ट्रिक कमर्सियल भ्यान
नेपालमा आउन लागेका मोडलमध्ये KF5039 EV इलेक्ट्रिक कमर्सियल भ्यान प्रमुख रहेको छ । उक्त भ्यानमा 62.2 kWh क्षमताको LFP ब्याट्री जडान गरिएको छ, जसले 350 किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको विवरण छ । यसमा 80 kW क्षमताको मोटर र 14 जना यात्रु बोक्न सक्ने क्षमता रहेको छ ।
भ्यानमा ABS, EPS, TPMS, सेन्ट्रल लक, 10.1 इन्च मल्टिमिडिया टचस्क्रिन, रियर भ्यु क्यामेरा, रियर पार्किङ सेन्सर, डीसी फास्ट चार्जिङ, इलेक्ट्रिक तथा हिटेड मिरर, एयर कन्डिसनिङ, इन्टेरियर लाइटिङ र इलेक्ट्रिक विन्डोजलगायतका सुविधा उपलब्ध छन् ।
१.५ टनसम्म सामान बोक्ने इलेक्ट्रिक लाइट ट्रक
KAIFENG को KF1021 EV इलेक्ट्रिक लाइट ट्रक पनि नेपाली बजारमा उपलब्ध हुने मोडलमध्ये एक हो । यसमा 41.86 kWh क्षमताको CATL ब्याट्री प्रयोग गरिएको छ, जसले 290 किलोमिटरभन्दा बढी रेन्ज दिने बताइएको छ ।
70 kW मोटर क्षमता भएको उक्त ट्रकले 1.5 टनसम्म कार्गो पेलोड बोक्न सक्छ । यसमा 195/70R15 टायर साइज प्रयोग गरिएको छ, जसलाई सामान ढुवानी प्रयोजनका लागि उपयुक्त मानिएको छ ।
३०० किलोमिटरभन्दा बढी रेन्जको इलेक्ट्रिक प्यासेन्जर कार
कम्पनीले KFD01 EV इलेक्ट्रिक प्यासेन्जर कार पनि नेपाल ल्याउने तयारी गरेको छ । उक्त कारमा 31.95 kWh क्षमताको LFP ब्याट्री र 45 kW मोटर रहेको छ । यसले 300 किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको विवरण छ ।
५ सिट क्षमताको उक्त कारमा 170 mm ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको फिचर सूचीमा ABS, EBD, EPS, एयरब्याग, एयर कन्डिसनर, हिटर, मल्टिमिडिया टचस्क्रिन, रियर भ्यु क्यामेरा, पार्किङ सेन्सर, लेदर सिट, भेल्भेट कार्पेट, इलेक्ट्रिक विन्डो, स्पेयर टायर, स्टेयरिङ माउन्ट कन्ट्रोल, स्टेयरिङ एडजस्टमेन्ट तथा फास्ट डीसी चार्जिङलगायतका सुविधा रहेका छन् ।
KAIFENG का यी तीन मोडल नेपालमा भित्रिएसँगै इलेक्ट्रिक कमर्सियल भ्यान, सामान ढुवानी गर्ने लाइट ट्रक र निजी प्रयोजनका इलेक्ट्रिक कारमा नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ ।

































