काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्यसहित विभिन्न नीति तथा कार्यक्रम अघि बढाउने भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालमै पहिलोपटक निर्माण भइरहेको ‘केयर इकोनोमी पोलिसी’मार्फत उक्त लक्ष्य हासिल गर्ने योजना रहेको बताएका छन्।
राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न सरकारले विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए। उनका अनुसार बिनाधितो कर्जा, व्यावसायिक मार्गदर्शन र डिजिटल रोजगारी प्लेटफर्ममार्फत युवालाई आर्थिक गतिविधिमा जोड्ने सरकारको योजना छ।
युवा स्वरोजगार कोषमार्फत बिनाधितो कर्जा उपलब्ध गराउने योजनासँगै युवालाई व्यवसाय सुरु गर्न र विस्तार गर्न सहयोग पुर्याउने कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको उनले बताए।
मन्त्री यादवका अनुसार ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ तथा ‘उद्यम बनाऊ उद्यम बढाऊ’ कार्यक्रम आगामी महिनादेखि सञ्चालनमा ल्याउने तयारी छ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र क्षमतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी कनेक्ट’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइने भएको छ। यसले विदेशबाट फर्किएका युवालाई स्वदेशमा उपलब्ध रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने सरकारको अपेक्षा छ।
देशभित्रै प्लेटफर्ममा आधारित अर्थतन्त्र विस्तार गर्ने उद्देश्यले ‘श्रम सेवा’ नामक अर्को डिजिटल प्लेटफर्म पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए।
श्रम तथा रोजगारी क्षेत्रमा विद्यमान बेथिति अन्त्य गर्न सरकारले नीति, ऐन तथा नियमावलीमा समयानुकूल सुधार गरिरहेको उनको भनाइ छ। नेपालमा पहिलोपटक निर्माण भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समेत समेट्ने तयारी गरिएको उनले बताए।
त्यस्तै, १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन प्रक्रिया अघि बढाइएको छ। संघीयता कार्यान्वयनपछि पहिलोपटक राष्ट्रिय युवा ऐन संशोधन गर्ने तयारीसमेत भइरहेको मन्त्री यादवले जानकारी दिए।
प्रस्तावित संशोधनमा राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा ३५ वर्षमुनिका युवालाई नियुक्त गर्न सकिने व्यवस्था समावेश गर्ने तयारी छ।
युवा नीति निर्माण तथा कार्यान्वयनमा युवाकै अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले सम्मेलनपछि तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावलाई कार्यान्वयनमा लैजाने बताए।
‘सम्मेलनपश्चात् तयार हुने काठमाडौँ घोषणापत्रका सुझावहरूलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको छ,’ उनले भने।
दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय युवा सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता तथा नागरिक सहभागितालगायतका विषयमा छलफल हुने कार्यक्रम छ।
सरकारले अघि सारेका रोजगारी सिर्जना, बिनाधितो कर्जा र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके वैदेशिक रोजगारीमा निर्भर युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र प्रभावकारी कार्यान्वयन संयन्त्र महत्त्वपूर्ण हुने देखिन्छ।

































