काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ । नागरिकलाई स्वास्थ्य तथा प्रशासनिक सेवा लिन कठिनाइ भइरहेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आइतबारसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
शनिबार बसेको गाउँपालिकाको १२१औँ बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार उक्त निर्णय आइतबारदेखि नै कार्यान्वयनमा आएको छ ।
निर्णयसँगै गाउँपालिका कार्यालय, अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरू अब आइतबार पनि नियमित खुल्नेछन् ।
गाउँपालिकाले आफ्नो भौगोलिक बनावट र स्थानीय यातायातको अवस्थालाई विश्लेषण गर्दै आइतबार सार्वजनिक बिदा दिने व्यवस्थाको औचित्य नरहेको निष्कर्ष निकालेको छ ।
खुम्बु क्षेत्रमा अन्य सहरी क्षेत्रको तुलनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन निकै कम प्रयोग हुने भएकाले आइतबार बिदा दिँदा इन्धन बचतमा अपेक्षित उपलब्धि नहुने गाउँपालिकाको ठहर छ । तर, यसले सर्वसाधारणले पाउने सरकारी सेवामा भने असर पारिरहेको थियो ।
दुर्गम हिमाली क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आइतबारको बिदाले समस्या निम्त्याएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्था बन्द हुँदा बिरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउनुका साथै आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ हुने गरेको गाउँपालिकाको भनाइ छ ।
त्यस्तै, प्रशासनिक कामका लागि टाढाबाट गाउँपालिका तथा वडा कार्यालय पुग्ने सेवाग्राहीले पनि बिदाका कारण सास्ती खेप्नुपरेको थियो ।
नागरिकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित आइतबारको बिदा हटाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको नयाँ व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्नेछ ।
जाडोयाममा कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहने गाउँपालिकाले जनाएको छ ।
यो निर्णयसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाका नागरिकले अब सातामा ६ दिन नियमित सरकारी सेवा लिन सक्नेछन् ।


































