काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ मा बर्ड फ्लुको पहिलो संक्रमण मोरङका सुन्दर हरैचा–४ र उर्लाबारी–८ क्षेत्रमा देखिएको थियो। त्यसपछि रोग क्रमशः फैलिँदै जाँदा हालसम्म चार जिल्लाका २३ वटा कुखुरा फार्म प्रभावित भइसकेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिले चितवन, झापा, मोरङ र सुनसरी जिल्लामा संक्रमण पुष्टि भएको छ। नियन्त्रणका लागि हालसम्म १ लाख १३ हजार ६०८ कुखुरा नष्ट गरिएका छन्।
जिल्ला अनुसार हेर्दा चितवनमा १, झापामा २, मोरङमा ८ र सुनसरीमा १२ वटा फार्म प्रभावित भएका छन्। संक्रमण थप फैलिन नदिन सम्बन्धित निकाय र सुरक्षा संयन्त्रसँग सहकार्य गर्दै ‘स्रोतमै नियन्त्रण’ लगायतका उपाय लागू गरिएको मन्त्रालयले जनाएको छ।
बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम प्रभावित क्षेत्रहरूमा निरन्तर अनुगमन, सरसफाइ र निसंक्रमणको काम भइरहेको छ।
विशेषज्ञहरूका अनुसार फार्म नजिक अग्ला रुख हुनु, पानीको स्रोत नजिकै फार्म सञ्चालन हुनु, जैविक सुरक्षाका मापदण्ड कडाइका साथ नअपनाइनु, सवारी साधन तथा आगन्तुकको अनियन्त्रित आवतजावत, अण्डा राख्ने क्रेटहरू सफा नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले जीवित कुखुरा र मासु दुबै सम्हाल्नु जस्ता कारणहरूले संक्रमण फैलिने जोखिम बढाउने गरेको छ।
































