काठमाडौँ। गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएपछि सत्तारूढ दलभित्र असन्तुष्टि खुल्न थालेको छ। नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य द्रोण कुमार कुँवरले मन्त्रीमा समावेश नगरिएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा बुझाएका हुन्।
सभामुख धितालले राजीनामा प्राप्त भएको जानकारी दिँदै आफू हाल काठमाडौंमा रहेको र पोखरा फर्किएपछि यस विषयमा आवश्यक निर्णय लिने बताएका छन्।
उनका अनुसार, ‘इमेलमार्फत राजीनामा आएको छ, फर्किएपछि छलफल गरी निर्णय गरिनेछ।’
धिताल काठमाडौंमै रहेकाले मन्त्रिपरिषद् विस्तार र शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन्। उनले आफू अघिल्लो दिन नै काठमाडौं आएको र शपथ कार्यक्रमबारे बिहान मात्रै जानकारी पाएकाले उपस्थित हुन नसकेको स्पष्ट पारे।
































