काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेको थियो। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई शेयर उपलब्ध गराउन लागिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।
अब बाँकी रहेको सेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा १६ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। यसपछि बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम समय चैत २५ गतेसम्म तोकिएको छ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ। इच्छुक लगानीकर्ताहरूले सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


































