काठमाडौँ। नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार कोषको केन्द्रीय कार्यालय, नयाँ वानेश्वरमा सभा सम्पन्न भएको हो।
सभामा सञ्चालक समितिको तर्फबाट कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले कोषको वार्षिक प्रतिवेदन पेश गरेका थिए।साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ ।
कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव स्वीकृत गरेको छ।


































