काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । कोषको लगानी क्षेत्र विस्तार गर्दै निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा समेत लगानी गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमार्फत कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्न खोजिएको जानकारी दिए ।
उनका अनुसार बदलिँदो आर्थिक परिवेशअनुसार कोषलाई आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन कानुनी व्यवस्था अद्यावधिक गर्न आवश्यक छ । यसका लागि निजी इक्विटी, भेन्चर क्यापिटललगायतका क्षेत्रमा लगानी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ ।
त्यस्तै, पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा र आवास क्षेत्रमा लगानी बढाउनुपर्ने अर्थमन्त्री वाग्लेले बताए ।
विधेयकमा कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने तथा संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था थप व्यवस्थित बनाउने प्रस्ताव पनि गरिएको छ । साथै, डिबेन्चर, ऋणपत्र, धितोपत्र, मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणसम्बन्धी परिभाषा परिमार्जन गरी लगानीको दायरा फराकिलो बनाउन खोजिएको छ ।
प्रस्तावअनुसार हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पुर्याइनेछ । शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्याउने र चुक्ता पुँजी ३ अर्बबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
उनले पुरानो कानुनी व्यवस्थाले समेट्न नसकेका लगानीका नयाँ क्षेत्रलाई समेट्दै कोषलाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।


































