काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।
पछिल्लो समय कान्तिपुर मार्फत प्रकाशित सहकारी संस्थाको पैसा दुरुपयोग सम्बन्धितका समाचार तथ्यहीन रहेको र आफूलाई बदनाम बनाउनका लागि चरणबद्ध रूपमा झुटो समाचार प्रकाशन गरेका लामिछानेले बताउँदै आएका छन् ।
लामिछानेले सामाजिक सञ्जाल फेशबुकमा मुद्दा दर्ता गरेको जानकारी गराउँदै लेखेका छन्: एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जितको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ ।
मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएर देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु ।
सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।
































