काठमाडौँ। नेपालको सेयर बजारले आज ऐतिहासिक कीर्तिमान कायम गरेको छ। आज नेप्से बजार खुलेको पहिलो घण्टामै करिब ११ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन बजारको इतिहासमा पहिलो पटक भएको यस्तो ठूलो भोल्युम हो।
बजार खुलेदेखि नै उच्च कारोबार देखिन थालेको थियो र १ घण्टाभित्रै यस्तो ठूलो रकमको कारोबार सम्पन्न हुनुले लगानीकर्ताहरुको उत्साह देखाएको छ।
हाल नेप्से परिसूचक केही घट्दै गरेको छ तर ठूला लगानीकर्ताहरुको प्रवेशका कारण साना लगानीकर्ताहरुले पनि सहभागी हुन थालेका छन्। ऐतिहासिक कारोबारले ठूला र बलिया लगानीकर्ताहरुको बजारमा द्रुत प्रवेश भएको देखाउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा एकल बहुमतको सरकार बन्ने सुनिश्चित भएपछि, पाँच वर्षसम्मको नीतिगत स्थिरताको अपेक्षाले लगानीकर्ताहरु उत्साहित भएका छन्। यही उत्साह आजको सेयर कारोबारमा स्पष्ट देखिएको छ।





































