काठमाडौं । मंगलबार सेयर बजारमा उत्साह थपिएको छ । यस दिन नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन नेप्से २.२६ अंकले बढेको थियो ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
यस दिन १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान बैंकिङ समूहको रहेको छ । कुल बजार पुँजीकरणमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ । यसबाहेक विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६ र लगानी समूह ०.३० प्रतिशतले बढेका छन् ।
त्यस्तै जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले उकालो लागेका छन् । माइक्रोफाइनान्स भने ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् ।
मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपाल ३.४२, सिटी होटल ३.०९, जनउत्थान सामुदायिक लघुवित्त ३.०१, हिमालयन डिस्टिलरी २.७९ र श्वेतगंगा हाइड्रोपावरको मूल्य २.७८ प्रतिशतले बढेको छ ।
यसको विपरीत मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावर ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्स ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको मूल्य ३.१७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल सबैभन्दा अगाडि रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक क्रमशः धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।


































