काठमाडौँ । नेपाली काँग्रेससँगको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बनेको सत्ता गठबन्धन पार्टीबाट मन्त्रीका आकाङ्क्षीहरूको चर्चा बाहिरिन थालेको छ ।
नयाँ भएको गठबन्धनको तर्फबाट आज एमाले, माओवादी, रास्वपा र जसपाका १–१ जनाले मन्त्रीको शपथ लिने तयारी भइरहेको स्रोतको जानकारी छ । जसमा एमालेले पहिलो चरणमै पदम गिरीलाई मन्त्री बनाउने बारेमा पार्टीमा निर्णय भएको बाहिरिएको छ । यस्तै, माओवादीबाट वर्षमान पुन सरकारमा जाने तयारीमा छन् ।
सरकारमा जानेहरूको सूचिमा लगभग शतप्रतिशत सम्भावित बनेका वर्षमान पुनका बारेमा अर्थमन्त्री बन्न सक्ने सम्भावना समेत उत्तिकै चुलिएर गएको छ । रास्वपाबाट सभापति रवि लामिछाने आफै नै सरकार जाने तयारीमा देखिएका छन् । रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने सम्भावना बाक्लिँदै गएको छ । यस्तै, जसपाबाट कसलाई पठाउने भन्ने निश्चित नभएको भए पनि अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान सक्रिय देखिएको स्रोतको जानकारी छ ।
नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएपछि २०७९ पुस १० गते बनेकै समीकरणका दलहरू एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन फेरि ब्युँतिएको हो ।

































