काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो। कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।
सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।





























