काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा फाइनान्स कम्पनीहरूको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा फाइनान्स कम्पनीहरूले कुल ७८ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६१.४३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा १५ मध्ये १२ कम्पनी नाफामा रहेका छन् भने ३ कम्पनी अझै घाटामा छन्। अघिल्लो वर्षको तुलनामा घाटामा रहने कम्पनीहरूको संख्या घटेको छ।
सबैभन्दा बढी नाफा मन्जुश्री फाइनान्सले कमाएको छ। कम्पनीले २४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको हो, जुन गत वर्षको तुलनामा १८.०७ प्रतिशतले बढी हो।
गत वर्ष घाटामा रहेको पोखरा फाइनान्सले यस वर्ष उल्लेखनीय सुधार गर्दै १९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ।
अन्य कम्पनीहरूको प्रदर्शनमा पनि सुधार देखिएको छ। आइसीएफसी फाइनान्सले १२ करोड ३९ लाख, गुडविलले ८ करोड ४५ लाख, गोर्खाज फाइनान्सले ६ करोड १५ लाख, वेस्ट फाइनान्सले ५ करोड ७६ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४ करोड २६ लाख, गुहेश्वरी मर्चेन्ट फाइनान्सले ४ करोड १९ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ८२ लाख, समृद्धि फाइनान्सले १ करोड १६ लाख, मल्टीपर्पस फाइनान्सले ८४ लाख र रिलायन्स फाइनान्सले ६४ लाख रुपैयाँ नाफा कमाएका छन्।
तर, तीन कम्पनी अझै घाटामा छन्। नेपाल फाइनान्सले सबैभन्दा बढी ८ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ। त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले २ करोड ७७ लाख र जानकी फाइनान्सले १ करोड ९२ लाख रुपैयाँ घाटा बेहोरेका छन्।






































