काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी सहतिको हस्ताक्षर सम्पन्न भएको छ ।
दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो। सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा भएका विभिन्न विषयमा सहमति भएका छन् । दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् ।







































