काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि घोषित टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।
प्रतियोगिता नेपालमै आयोजना हुँदैछ । जसमा नेपालसहित नामिबिया, क्यानडा, संयुक्त अरब इमिरेट्स (यूएई), इटाली, युगान्डा, जर्सी र कुवेत गरी आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा हुनेछ । जसमा प्रत्येक टोलीले अन्य सातवटै टोलीसँग एक–एक खेल खेल्नेछ । प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।
नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
































