काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को प्रतिनिधिमण्डल ट्रेड युनियन अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथि भएको हस्तक्षेपको विषय अन्तर्राष्ट्रिय स्तरमा उठाउन स्विट्जरल्याण्डको जेनेभा जाने भएको छ।
भोलि जेठ २३ गते जेटीयूसीसीका अध्यक्ष, महासचिव तथा विभिन्न आबद्ध महासंघका नेतृत्वसहितको टोली जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उक्त टोली ‘अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको ११४औँ सत्र’ मा सहभागी हुनेछ, जुन जेठ २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जेटीयूसीसीका अध्यक्ष विनोद श्रेष्ठले वर्तमान परिस्थितिमा श्रमिक अधिकार र लोकतन्त्र दुबै जोखिममा परेको दाबी गरे।
श्रेष्ठले सरकारको पछिल्लो गतिविधिले सुशासनको अपेक्षा विपरीत परिणाम दिएको उल्लेख गर्दै ट्रेड युनियनमाथि हस्तक्षेप मात्र नभई समग्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको आरोप लगाए।
कार्यक्रममा अन्य नेताहरूले पनि सरकारको नीति र निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। एनटियुसिका अध्यक्ष योगेन्द्रकुमार कुँवरले राष्ट्रिय स्वाधीनताजस्ता संवेदनशील विषयमा सरकार प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाए। यस्तै, टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले अध्यादेशमार्फत ट्रेड युनियन दर्ता खारेजी गर्ने प्रयासप्रति विरोध जनाए।
महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाले अन्तर्राष्ट्रिय श्रम मापदण्ड कार्यान्वयनका लागि देशभित्र आन्दोलन र बाह्य दबाब दुवै आवश्यक रहेको बताइन्। महासचिव नवराज दाहालले वर्तमान सरकार श्रमिक वर्गप्रति अनुदार हुँदै गएको आरोप लगाउँदै यसको विरोधमा एकजुट हुन आह्वान गरे।

































