काठमाडौं । सरकारले लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अध्ययन तथा असाधारण बिदामा बसेका केही कर्मचारीहरू बिदा सकिएपछि पनि कार्यस्थलमा उपस्थित नभएको र अभिलेख अद्यावधिक नगरेको जनाएको छ।
मन्त्रालयका अनुसार यस्ता कर्मचारीहरूको विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको पाइएको छ। त्यसैले सम्बन्धित कर्मचारीलाई सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र आफ्नो व्यक्तिगत विवरण (PIS) अद्यावधिक गर्न अनिवार्य गरिएको छ।
साथै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय निकायहरूलाई पनि आफ्नो मातहतमा रहेका कर्मचारीहरूको बिदा सम्बन्धी विवरण, बिदा सकिएपछि हाजिर भए/नभएको अवस्था लगायतका जानकारी यकिन गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले बिदा समाप्तिपछि पनि सम्पर्कमा नआएका वा कार्यालयमा हाजिर नभएका कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने संकेत दिएको छ। सरकारले अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।

































