काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै उल्लेख्य चाप देखिएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा ७ लाख ७० हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका छन्।
उक्त आवेदनमार्फत करिब ८५ करोड २३ लाख रुपैयाँ बराबरको ८५ लाख २३ हजारभन्दा बढी कित्ताका लागि माग परेको छ। कम्पनीले सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी गरेको हो, जसले माग र आपूर्तिबीच ठूलो अन्तर देखाएको छ।
आईपीओको पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ७९ हजार कित्ता सेयर पहिले नै बाँडफाँड भइसकेको छ। त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो।
कम्पनीले ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र १५ हजार ८ सय कित्ता कर्मचारीका लागि छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गतेसम्म खुला रहनेछ। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन गर्न सकिनेछ। बिक्री तथा निष्कासनको प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

































