काठमाडौं । अध्ययन बिदामा विदेश गएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब ३ सय प्राध्यापक तथा कर्मचारी हालसम्म सम्पर्कविहीन रहेका छन्। अध्ययन पूरा गरेपछि विश्वविद्यालयमा फर्किने प्रतिबद्धता जनाएर बिदामा गएका अधिकांश शिक्षक तथा कर्मचारी सेवामा नफर्किएपछि त्रिविले उनीहरूबाट प्राप्त सुविधा र तलबभत्ता फिर्ता गराउन पहल तीव्र बनाएको छ।
त्रिविका अनुसार अध्ययन बिदामा रहेका एक प्राध्यापक वा कर्मचारीले वार्षिक औसत १० लाख १७ हजार ६३३ रुपैयाँ तलब तथा सुविधा पाउने गरेका थिए। यही आधारमा अध्ययन बिदामा रहेका ३९८ जना शिक्षक तथा कर्मचारीलाई पाँच वर्षको अवधिमा करिब दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको थियो।
तर अध्ययन सकेर सेवामा फर्किनुपर्ने दायित्व पूरा नगरी धेरैजसो विदेशमै बसोबास गर्न थालेपछि विश्वविद्यालयले एक वर्षदेखि विभिन्न माध्यमबाट उनीहरूसँग सम्पर्क गरी रकम फिर्ता गर्न दबाब दिँदै आएको छ। सोही अभियानअन्तर्गत पछिल्लो ६ महिनामा ४४ जना प्राध्यापक तथा कर्मचारीबाट ११ करोड रुपैयाँ फिर्ता भइसकेको छ।
छानबिन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार अध्ययन बिदामा गएका ३९८ जनामध्ये ४४ जनाले रकम बुझाइसकेका छन् भने ६१ जना सम्पर्कमा रहेका छन्। बाँकी ठूलो संख्या अझै सम्पर्कबाहिर रहेको उनले बताए। उनका अनुसार कतिपय नेपालमै रहेको सूचना भए पनि धेरैजसो विदेशमा बसोबास गरिरहेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलले अध्ययन बिदा र विश्वविद्यालयका सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक तथा नैतिक क्षतिसमेत पुर्याएको बताएका छन्। उनले छानबिन र कानुनी प्रक्रियालाई प्रभावकारी बनाइ रकम असुलीको कामलाई तीव्रता दिइएको जानकारी दिए।
त्रिविले अध्ययन बिदामा गएर सेवामा नफर्किएका सबै शिक्षक तथा कर्मचारीबाट नियमअनुसार रकम असुल गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

































