काठमाडौँ। आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले प्रहरीमा उजुरी दिने जनाएको छ ।
आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको आचार्य नाम गरेको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने आचार्य समाजका एक प्रतिनिधिले जनाएका छन् ।
उनले जुत्तामा राखिएको आचार्यहरूको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिएका छन् ।
यस्तै आचार्य समाजका अगुवाहरूले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनुपर्ने लगायतका विषय उठाएका छन् । प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ ।
बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रक्रिया अपनाउने निर्णय गरेको छ । कम्पनीले जुत्तामा मात्रै नभएर टिसर्टमा समेत आचार्य नाम राखेको प्रति आचार्य बन्धु समाज नेपालले आपत्ति जनाएको हो ।































