काठमाडौं । खानेपानीमा लगाइएको कर खारेज गर्न र विद्युत महसुलमा छुटको व्यवस्था गर्न माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा भएको उक्त प्रदर्शनसँगै सरकारलाई औपचारिक ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ।
प्रदर्शनमा सहभागी उपभोक्ताहरूले सन् २०३० भित्र सबै नागरिकलाई सुरक्षित खानेपानीको सुनिश्चितता गर्नुपर्ने, साना खानेपानी आयोजनाहरूलाई एकीकृत गरी ठूला परियोजनाका रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने, खोला, कुलो र पोखरीहरूको संरक्षण गर्नुपर्ने तथा वृक्षारोपणलाई व्यापक रूपमा अघि बढाउनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

































