काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले भित्री सूचनाका आधारमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विभागले कात्तिक २३ गते अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले रिडी पावरका सीईओ कुबेरमणि नेपालविरुद्ध पनि मुद्दा दाय गरेको छ। उनीमाथि न्यौपानेलाई शेयरको भित्री कारोबारका लागि सहजीकरण गरिदिएको विभागको दाबी छ। नेपाललाई न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न विभागले माग गरेको छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको शेयर आफू पदमा बहाल रहेकै बेला २०७७ साल चैत १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरिदबिक्री गरेको पाइएको विभागले जनाएको छ।


































