काठमाडौँ । पौष १३ गते शनिवार दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह हुने भएको छ । उक्त दीक्षान्तमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने भएका छन् ।
दीक्षान्त समारोहमा स्नातक तहदेखि पिएचडीसम्मका दीक्षित हुने १४ हजार ३०८ विद्यार्थी सहभागी हुन लागेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रङ्गशालामा प्रमाणपत्र वितरणका लागि विभिन्न ६३ वटा स्टल राखिनेछन् ।
दीक्षान्त समारोहका आवश्यक तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो वर्ष दीक्षित हुनका लागि ७३ हजार विद्यार्थीको ग्रेसलिष्ट पास गरेको थियो । तर, तीमध्ये दीक्षान्त समारोहमा १४ हजार बढीको सङ्ख्यामा सहभागी हुन आवेदन दिएका हुन् ।
दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक समेत गरेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन शंकायका एमफील तहका हिरा श्रेष्ठले पाउने भएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । त्यस्तै श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
यता, अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाउने भएका छन्। पोखरेलले ३.९५ सीजीपीए ल्याएका छन्। मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने भएकी छिन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन्। साथै, नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाउने भएकी छिन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाउने भएकी छिन् ।

































