काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै १५ करोड बढी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई आज पत्रकार सम्मेलन गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरूले तीन,चार वर्षयता कम्तीमा तीन सय जनाभन्दा बढी मान्छेलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीको भनाई छ ।
जिसीका अनुसार,“उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पुर्पक्षका लागि कारागारमा रहेका छन् ।”
उनीहरूले तीन सय जनाभन्दा बढी मानिसबाट कम्तीमा पनि पाँच लाखदेखि १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ। उनीहरूले फेसबुक प्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै रकम ठगी गर्ने गरेको पाइएको छ ।


































