काठमाडौँ। नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार संसद्बाट विश्वासको मत लिने भएका छन्।
गत असार ३० गते संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले असार ६ गते विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एमाले अध्यक्ष ओलीले असार ३१ गते पदभार सम्हालेका हुन् ।
आइतबार बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार साउन ६ गते आइतबारका दिन नै प्रधानमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन् । छिट्टै संसद्को विश्वास लिएपछि काम अघि बढाउन सहज हुने भएकोले अगाडि नै लिने निर्णय गरिएको बर्तौलाको भनाई रहेको छ ।
संसदका प्रमुख दुई दल मिलेर सरकार बनाएकोले प्रधानमन्त्रीलाई विश्वासको मत लिन भने सहज छ । अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सामेल छन् ।































