National life
cg eloctronics

दानाको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग व्यवसायीको माग, किसान मारमा परेको गुनासो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.6kShares
दानाको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग व्यवसायीको माग, किसान मारमा परेको गुनासो
muktinatha bikash bank

काठमाडौं । पशु आहार (दाना) को मूल्य निरन्तर बढ्दै गएपछि नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघले मूल्यवृद्धि नियन्त्रण, गुणस्तर सुनिश्चितता र वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ। दानाको मूल्य बढ्दा पशुपालन तथा दुग्ध उत्पादन गर्ने किसानको लागत बढेको तर दूधको मूल्य र किसानले पाउने प्रतिफल सोही अनुपातमा समायोजन हुन नसकेको संघको गुनासो छ।

संघले २०८३ मंसिर १० गते जारी गरेको प्रेस विज्ञप्तिमा दानाको मूल्यवृद्धिले गाईभैँसीपालन तथा दुग्ध उत्पादन क्षेत्र प्रत्यक्ष प्रभावित भइरहेको उल्लेख गरेको छ। यसले पशुपालन व्यवसाय जोखिममा पार्नुका साथै दूध उत्पादन, दुग्धजन्य पदार्थको मूल्य र समग्र खाद्य तथा पोषण सुरक्षामा समेत असर पार्न सक्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संघका अनुसार दाना महँगिँदै जाने तर किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था कायम रहे पशुपालन व्यवसाय टिकाउन कठिन हुनेछ। त्यसैले दाना उत्पादनको वास्तविक लागत, कच्चापदार्थको मूल्य, आयात, ढुवानी, सञ्चालन खर्च र उद्योगको उचित मुनाफासमेत समेटेर पारदर्शी तथा वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ।

दाना उद्योग र आयातको तथ्यांकमै एकरूपता छैन

संघले राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको किसान पोर्टलमा प्रकाशित विवरणअनुसार विगतमा नेपालमा साना तथा मझौला गरी ११८ वटा पशु आहारा उद्योग सञ्चालनमा रहेको र दैनिक औसत २,६०० मेट्रिक टन दाना उत्पादन हुने उल्लेख गरेको छ।

everest bank

प्रयोगशालाको हालको डिजिटल अभिलेखमा भने ७५ वटा दाना उद्योग, ९८ वटा आयातकर्ता फर्म र तयारी दाना आयात गर्ने २८ वटा फर्म सूचीकृत छन्। नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको पोल्ट्री तथा दाना क्षेत्रसम्बन्धी विवरणमा ११५ वटा दाना उद्योग उल्लेख छन्।

अभिलेखको दायरा र अद्यावधिक अवस्था फरक रहेकाले वास्तविक रूपमा सञ्चालनमा रहेका उद्योग, उत्पादन क्षमता र बजार हिस्साको यकिन विवरण सार्वजनिक गर्न संघले माग गरेको छ।

८० प्रतिशत कच्चापदार्थ आयातमा निर्भर

सरकारी विवरणअनुसार दाना उत्पादनमा प्रयोग हुने मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड एडिटिभ र सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको छ। नेपाल दाना उद्योग संघका अनुसार कुल कच्चापदार्थमा मकै र भटमासजन्य सामग्रीको हिस्सा करिब ८० देखि ८५ प्रतिशत छ।

भन्सारको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार खाद्य उद्योगका अवशेष तथा तयारी पशु आहारसमेत समेटिएको समग्र पशुपन्छी आहारा तथा सम्बन्धित वस्तुको आयात मूल्य करिब २८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। उक्त रकम तयारी दानाको मात्रै आयात नभई विभिन्न पशु आहारजन्य वस्तु तथा कच्चापदार्थसमेत समावेश भएको संघले स्पष्ट पारेको छ।

मकै र भटमास महँगिँदा दाना उत्पादन लागत १५ प्रतिशत बढ्यो

२०८३ कात्तिक २४ गते प्रकाशित बजार विवरणअनुसार पछिल्लो समय मकै र भटमासको मूल्य उल्लेख्य बढेको छ। भारतीय मकैको मूल्य प्रतिकिलो ३९ रुपैयाँबाट बढेर ५४ रुपैयाँ पुगेको छ भने स्वदेशी मकैको मूल्य ३६ रुपैयाँबाट बढेर ५० रुपैयाँभन्दा माथि पुगेको दाना उद्योग क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।

भटमासको पिनालगायत अन्य कच्चापदार्थको मूल्यसमेत बढ्दा दाना उत्पादन लागत करिब १५ प्रतिशत वृद्धि भएको उद्योग क्षेत्रको भनाइ छ। यही मूल्यवृद्धिका कारण ब्रोइलर दानामा प्रतिकिलो ५ रुपैयाँ र लेयर्स दानामा ४ रुपैयाँ वृद्धि गरिएको समाचारमा उल्लेख छ।

यद्यपि, यी मूल्यवृद्धि पोल्ट्री दानासम्बन्धी प्रकाशित विवरण हुन्। गाईभैँसीको दानाको छुट्टै मूल्यवृद्धिको आधिकारिक विवरण सार्वजनिक गर्नुपर्ने संघको माग छ।

सरकारसँग ८ बुँदे माग

नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघले दाना मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारसमक्ष ८ बुँदे माग अघि सारेको छ।

संघले दाना उत्पादनमा प्रयोग हुने कच्चापदार्थको खरिद मूल्य, आयात खर्च, ढुवानी, उत्पादन तथा सञ्चालन लागत र उचित मुनाफासमेत गणना गरी वैज्ञानिक तथा पारदर्शी मूल्य निर्धारण गर्न माग गरेको छ। साथै, विगत एक वर्षमा गाईभैँसी, कुखुरा, बंगुर तथा अन्य पशुपन्छीका दानाको मूल्य कति प्रतिशतले बढेको हो भन्ने आधिकारिक तथ्यांक संकलन गरी सार्वजनिक गर्नुपर्ने जनाएको छ।

नेपालमा दर्ता भएका, सञ्चालनमा रहेका र उत्पादन गरिरहेका दाना उद्योगको वास्तविक संख्या, उत्पादन क्षमता, दैनिक उत्पादन, बजार हिस्सा तथा आपूर्तिको अवस्थाबारे अध्ययन गरी सार्वजनिक गर्नुपर्ने संघको माग छ।

विदेशबाट तयारी दाना तथा कच्चापदार्थ कुन देशबाट, कति परिमाणमा र कति मूल्यमा आयात भइरहेको छ भन्ने विवरण सार्वजनिक गरी स्वदेशी उत्पादन र आयातित वस्तुको तुलनात्मक अध्ययन गर्नसमेत आग्रह गरिएको छ।

त्यस्तै, दानामा प्रयोग हुने मकै, भटमासको पिना, ढुटो, फिड सप्लिमेन्ट तथा अन्य कच्चापदार्थको पोषण गुणस्तर, ढुसी, अफ्लाटक्सिन, हानिकारक रासायनिक पदार्थ तथा एन्टिबायोटिकको अनधिकृत प्रयोग भए/नभएको नियमित प्रयोगशाला परीक्षण गर्नुपर्ने माग गरिएको छ। गुणस्तरहीन दानाको बिक्री वितरण नियन्त्रण गरी पशु स्वास्थ्य, दूधको गुणस्तर र मानव स्वास्थ्यमा पर्न सक्ने असरसमेत अध्ययन गर्नुपर्ने संघको भनाइ छ।

कच्चापदार्थको मूल्य बढेका कारण स्वदेशी दाना उद्योग सञ्चालन गर्न कठिन भए राज्यले सहुलियत, अनुदान, कर छुट, सहुलियतपूर्ण ऋण वा अन्य उपयुक्त सहयोग उपलब्ध गराउनुपर्ने तर उद्योगको सम्पूर्ण लागतवृद्धि किसानमाथि थोपर्ने अवस्था अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ।

दाना उत्पादन, आयात, बिक्री वितरण, मूल्य निर्धारण तथा गुणस्तर परीक्षणमा प्रभावकारी सरकारी अनुगमन गरी अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन उत्पादन र अपारदर्शी कारोबार नियन्त्रण गर्न संघले आग्रह गरेको छ।

सरकार, सम्बन्धित मन्त्रालय तथा विभाग, सहकारी क्षेत्र, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग, दाना उद्योग, किसान प्रतिनिधि र विज्ञ सम्मिलित बैठक तत्काल आयोजना गरी तथ्यांक र वास्तविक लागतका आधारमा दीर्घकालीन समाधान निकाल्नुपर्ने मागसमेत संघले अघि सारेको छ।

किसान र उद्योग दुवैलाई जोगाउनुपर्नेमा जोड

संघले कुनै पनि उद्योग वा व्यवसायलाई निरुत्साहित गर्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पारेको छ। उद्योगीले लगानीको उचित प्रतिफल पाउनुपर्ने र किसानले उत्पादन लागत धान्न सक्ने गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै मूल्य निर्धारणको सम्पूर्ण भार किसानमाथि पर्ने अवस्था स्वीकार्य नहुने जनाएको छ।

किसानले पशु पाल्न नसक्ने, दाना किन्न नसक्ने र उत्पादनबाट उचित प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भए दूध तथा दुग्धजन्य पदार्थको उत्पादन घट्ने, आयातमा निर्भरता बढ्ने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्ने संघको चेतावनी छ।

त्यसैले दाना उद्योगको संरक्षण, किसानको लगानी सुरक्षा, पशुपालन व्यवसायको दिगोपन र स्वदेशी उत्पादन वृद्धि गर्न पशु आहारको मूल्य, गुणस्तर तथा बजार व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग संघले आग्रह गरेको छ। समयमै समस्या सम्बोधन नभए दुग्ध तथा समग्र पशुपन्छीपालन क्षेत्रमा थप जटिलता सिर्जना हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?