काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउने तयारी थालेका हुन् ।
दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभात फेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।
४५औँ विश्व पर्यटन दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ चोम्रोङमा समेत पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।
दिवसको अवसरमा चोम्रोङमा आगन्तुक पर्यटकलाई खादा र माला लगाएर स्वागत गरिएको थियो। समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको चोम्रोङ ट्रेकिङको लागि निकै चर्चित छ।
यो गाउँ अन्नपूर्ण बेस क्याम्प जाने मुख्य मार्गमा पर्दछ, जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण र अन्य हिमालहरूको नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ। चोम्रोङबाट देखिने हिमालहरूको मनोरम दृश्यले यस गाउँलाई पर्यटकीय केन्द्रको रूपमा स्थापित गरेको छ।
त्यस्तै, दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्वितीय संयोजन रहने छ ।




































