काठमाडौँ । शनिवार काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा भएको छ। उपत्यकामा ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ । १९७० देखि वर्षाको अभिलेख राख्न थालेकोमा विभागको अभिलेखमा शनिवार काठमाडौँमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको विभागले जनाएका छन् ।
काठमाडौँमा सन् २००२ मा सबैभन्दा ठुलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रवार र शनिवार झन् ठुलो वर्षा भएर नयाँ रेकर्ड बनेको हो । वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ। विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको जानकारी दिएको छ ।
शनिवार १८७.३ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा शुक्रवार बिहानदेखि सुरु भएको भारी वर्षा शनिवार अपराह्नपछि मात्रै रोकिएको छ । भारी वर्षाका कारण उपत्यकाका नदीहरूले बाढीको रूप लिएका छन् भने नदी आसपासका सहर र सडक जलमग्न बनेका छन् ।
अत्यधिक वर्षाका कारण हालसम्म उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने देशभर शनिवार साँझसम्म ६६ जनाले बाढी, पहिरोबाट ज्यान गुमाएका छन् । अझै ७९ जना बेपत्ता रहेका छन् ।
नेपाल प्रहरीका अनुसार काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो भने पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ।




































