काठमाडौँ । असोज महिनामा बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२४ प्रतिशत विन्दुले घटेको छ । असोज महिनामा बैंकहरुको औसत बेस रेट ७.६८ प्रतिशत कायम छ । भदौ महिनामा भने औसत आधार दर ७.९२ प्रतिशत निर्धारण भएको थियो ।
बैंकहरुले सार्वजनिक गरेको ३ महिनाको औसत आधार दर अनुसार भदौको तुलनामा असोजमा २० वटै वाणिज्य बैंकको आधार दरमा गिरावट आएको छ । अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । बेस रेट घट्दै गएपछि कर्जाको ब्याजदर सोही अनुसार तल आउने गर्छ । आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूमा ६५ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा ५२ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सीडी रेसियो ७८.५८ प्रतिशत छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । यसले अहिले समग्रमा बैंक तथा वित्तीय संस्थाहरू कर्जा दिन सहज अवस्थामा रहेको देखाउँछ ।
असोजका लागि सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको बेस रेट ७.०३ प्रतिशत रहेको छ ।





































