काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई भ्रष्टाचारको आरोप लागेको छ। राई माथि भ्रष्टाचार गरेको आरोप लगाउँदै सरिता परियारले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेकी छिन् ।
अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरी पत्रमा भनिएको छ, अखिल नेपाल फुटबल संघ (एन्फा) र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी) बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो। महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊ भन्दा पटक पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी आएको छ।’

महासचिव राईले पटक पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ। उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप म्यासेजका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ।


































