काठमाडौँ । केही समय अगाडि सामाजिक सञ्जालदेखि विभिन्न डिजिटल माध्यममा चर्चामा रहेको श्रीकेश तेल उत्पादक कम्पनीलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
प्राविधिक विश्लेषणमा गुणस्तर पुष्टि हुन नसकेपछि महानगरले उक्त श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरको भनाई छ ।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ ९तेल तथा जडीबुटी०हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको महानगरको भनाई छ । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक सम्मिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको महानगरले जनाएको छ ।
सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ तेलको प्रयोग म्यादभन्दा कम देखिएको महानगरपालिको भनाई छ ।

































