काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आर्थिक वर्ष २०७८/०७९ सम्म ६ करोड ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की प्रवाह भएको जनाएको छ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा संयोजकत्वको समितिले प्रतिवेदन अनुसार उक्त पेस्की रकम हालसम्म फर्छ्यौट हुन सकेको छैन । ‘नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ, गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ, ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ पेस्की गएको समितिको ठहर छ ।
समितिका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/०७८ मा नोबडी प्रोडक्सन प्रालिलाई ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म पनि ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ फर्छ्यौट भएको छैन ।
यस्तै, आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ गरी जम्मा करोड लाख ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की गएको समितिले जनाएको छ।
यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७र ०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८/०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ।
जस अनुसार शम्भु गुरागाईँले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
समितिका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शम्भु गुरागाईँले कर्मचारी पेस्की बापत ८१ लाख ३ हजार १९८ रुपैयाँ लिइ आर्थिक वर्ष २०७८/०७९ सम्म पनि पेस्की फर्छ्यौट गरेका छैनन्। यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी पेस्कीबापत पटक पटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।




































