काठमाडौँ। उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्तामाथि ठगी भइरहेको आरोप लाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ता चरम ठगीमा परेको गुनासो गरेका छन् ।
बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताए । उनले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरूको बिक्री वितरण भइरहेको बताए ।
उनले सामग्रीहरू चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रूपमा हुने गरेको बताए । त्यस्तै, बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरू नियमित नहुँदा नहुँदै पनि चर्को महशुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरूले अनुगमन गर्नुपर्ने बताए । उनले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताए । उनले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताए ।
बैठकमा बोल्दै विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको बताए । उनले वाणिज्य विभागले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न खोजे पनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको बताए । उनले सिमेन्ट, काँटा किला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताए ।

































