काठमाडौँ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एक्जिम ब्यांक, भारतको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) बाट म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।
प्राधिकरणका अनुसार आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ भने कङ्क्रिट लाइनिङको काम भइरहेको छ। कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रूपमा कङ्क्रिट लाइनिङ गरिँदै छ।
मुख्य सुरुङबाट विद्युत् गृहसम्म पानी पुर्याउन राखिने एक हजार ५० मिटर पेन स्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ। विद्युत् गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटर लगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ। विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुई वटा युनिट रहनेछन्।
खोलाको पानी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण भइसकेको छ। बाँधमा रहने गेट लगायत उपकरण जडान शुरू गर्न लागिएको छ। बालुवा थिग्र्याउने पोखरी (डिसेन्टर) को निर्माण ३० प्रतिशत सकिएको छ। वर्षाका कारण रोकिएको हेडवर्क्सको निर्माण शुरू गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले निर्माण स्थलको अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्न निर्देशन दिएका छन्।
आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ छ। भारतीय एक्जिम ब्यांकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ। बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन्। सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरू इन्जिनियरिङ, खरिद र निर्माण ९ईपीसी० ढाँचामा जयप्रकाश एशोसिएट्स लिमिटेड, भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरू भारत हेभी इलेकट्रिकल लिमिटेडले र निर्माण सुपरिवेक्षण वाप्कोस लिमिटेड, भारतले गरिरहेका छन्।































