काठमाडौं। आइतवार बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएका नागरिकहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने जानकारी दिएको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने निर्णय समेत गरेको छ । राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।
अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।
साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ । बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।


































