काठमाडौँ। नेपालबाट बङ्गलादेश सरकारले ४० मेगावाट बिजुली किन्ने निर्णय भएको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी) को बैठकले मङ्गलवार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो।
सीसीजीपीको १५औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने निर्णय भएको छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले बंगलादेशी पावर डिभिजनको प्रस्ताव अनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो त्यहाँका सरकारी समाचार संस्थालाई बताएका छन् ।
यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ ।
जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ । यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ । नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा छन् ।

































