काठमाडौँ । चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा भरतपुरमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने भएको छ ।
संघको चितवन प्रदर्शनी केन्द्रमा हुने मेला आगामी वैशाख ७ गते शुक्रवारदेखि ११ गते मङ्गलवारसम्म हुने आयोजकले जानकारी दिएको हो । चितवन उद्योग संघका उपाध्यक्ष एवं प्रदर्शनी विभागका संयोजक दिनुप कुमार बरालले मेलामा औद्योगिक र सूचना प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० वटा स्टल रहने बताए ।
त्यसमध्ये सात वटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा तीन–तीन वटा निःशुल्क स्टल रहने छन् ।
मेलाले लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवं उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने र व्यवसायी–व्यवसायी तथा व्यवसायी–उपभोक्ता भेटघाटका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रदर्शनीका क्रममा स्वदेशी एवं विदेशी उद्योगीहरूका बिच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षित गर्न, ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा अभिवृद्धि गर्न तथा व्यावसायिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बरालले बताए ।
मेला अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न र कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरूको निःशुल्क मर्मत गरिने क्यान चितवनका अध्यक्ष टेकलाल भुसालको भनाई छ । अनलाइनबाट रजिस्ट्रेसन गरी आउने अवलोकनकर्तामध्ये दैनिक तीन जनालाई गोला प्रथाको माध्यमबाट आकर्षक पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
मेलाअन्तर्गत नै क्यान चितवनसँगको सहकार्यमा ‘चितवनको समृद्धि-सूचना प्रविधि’ भन्ने मुख्य उद्देश्य राखी टेकमाइन्ड्स नेटवर्क क्यान इन्फो टेक चितवन–२०८१’ आयोजना हुने उनले बताए । उक्त प्रदर्शनी अवधिभर टेकमाइन्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्तालाई विशेष सहुलियत प्याकेज उपलब्ध हुने बताइएको छ ।

































