काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मङ्गलवार (भोलि) नेपाल आउने भएका छन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मङ्गलवार नेपाल आउन लागेका हुन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिर नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
साथै अमिर सेख तमिमले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुने मन्त्रालयको भनाई छ ।
सरकारले सार्वजनिक बिदा दिएसँगै भोली मङ्गलवारका दिन बैंक,वित्तीय संस्था तथा शेयर बजार कारोबार बन्द हुने भएको छ । केही बैंकले भने नियमित सेवा दिने भएका छन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।






































