काठमाडौँ । अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध रहेका ३४ वटा राजमार्गमध्ये २९ वटा सञ्चालनमा आइसकेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको जनाएको हो।
अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी रहेको मन्त्रालयले जानकारी गराएको छ । अरनिको राजमार्ग, वीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्।
यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।
बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भन्दै मन्त्री देवेन्द्र दाहालले प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको छ।


































