काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउनका लागि सरकार तयार रहेको बताए।
सुनचाँदी व्यवसायीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले बजेटबाट बढेको सुनचाँदीको भन्सारदर घटाउन सरकार सकरात्मक रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेललाई भेटका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारी अर्थमन्त्रालय पुगेका थिए। भेटका क्रममा व्यवसायीहरुले नेपालमा सुनको भन्सारदर बढ्दा भारतबाट तस्करीको जोखिम बढेको अर्थमन्त्रीलाई बताएका थिए ।
व्यवसायीको कुरा सुनेपछि अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको स्वीकार गरे । यो विषयलाई सम्बन्धीत निकायसँगको छलफलपछि छिट्टै निष्कर्षमा पुग्ने अर्थमन्त्री पौडेलले व्यवसायीलाई प्रतिबद्धता दिए ।
नेपालले चालू आर्थिक वर्षका लागि भन्सारदर वृद्धि गरेपछि सुनको भन्सार महशूल २० प्रतिशत पुगेको छ । उता भारतले सुनको भन्सार महशूल ५ प्रतिशत आसपासमा झारेको छ । यसकारण नेपालको बजारको तुलनामा भारतीय बजारमा सुनको मूल्य सस्तो हुन्छ ।
सोहीकारण सिमा नाका आसपास बस्ने सर्वसाधारणले भारतीय बजारबाट सुन किन्न थालिसकेका छन् । जसबाट नेपालको राजश्व घट्न जान्छ । भारतीय बजारमा नेपाली आकर्षित बन्दै गएपछि व्यवसायी समेत अत्तालिएका छन् ।































